नेपाली समुदाय युरोपमा, विशेष गरी आप्रवासन तथा शरणार्थी प्रणालीसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएको एक सक्रिय समुदायका रूपमा विकसित हुँदै गएको छ। युरोपमा नेपालीहरूको संख्या लाखौँको आसपास पुगेको अनुमान गरिन्छ, यद्यपि देशअनुसारको आधिकारिक तथ्यांक फरक–फरक हुन सक्छ।
विदेशमा रहेका नेपाली संघ–संस्था, सामुदायिक समूह तथा सामाजिक संस्थाहरूको मुख्य भूमिका नयाँ आउने नेपालीहरूलाई आवास, रोजगारी, भाषा सिकाइ तथा कानुनी प्रक्रियाबारे सही जानकारी र आवश्यक सहयोग उपलब्ध गराउनु, नेपाली भाषा, संस्कृति तथा चाडपर्वको संरक्षण र प्रवर्द्धन गर्नु, साथै वैध विद्यार्थी, श्रमिक वा व्यावसायिक भिसामार्फत युरोप आएका नेपालीहरूलाई आफ्नो कानुनी हैसियतअनुसार अघि बढ्न सहयोग गर्नु हुनुपर्ने हो।
विदेशमा नेपालजस्तो सजिलो सायदै हुँदैन। हरेकले काम गरेर नै बाँच्नुपर्ने हुन्छ। जब नेपालीहरू विदेश आएर दैनिक काम गर्दै रोबोटजस्तो जीवन बिताइरहेका हुन्छन्, केही समयपछि उनीहरूलाई आफ्नो अस्तित्व नै हराउँदै गएको महसुस हुन सक्छ। नेपालमा समुदाय, टोल–छिमेकमा इज्जत, आत्मीयता लगायतका कुराहरू हुन्छन्। विदेशमा त्यो आत्मीयता र सामाजिक पहिचान नपाउँदा आफ्नो अस्तित्व खोज्ने प्रयास गर्न थाल्छन्। त्यही रोबोटजस्तो जीवनबाट आफ्नो पहिचान र अस्तित्व खोज्ने क्रममा विभिन्न समूह तथा संगठनहरू निर्माण गर्ने प्रवृत्ति बढेको देखिन्छ।
विदेशमा नेपालकै राजनीतिक दलका भ्रातृ संगठनहरू खोल्ने र विभिन्न जातजातिको नाममा साना–साना संस्थाहरू स्थापना गर्ने प्रवृत्ति बढेको छ। विभिन्न जातजाति, क्षेत्र तथा राजनीतिक विचारधाराका नाममा संगठनहरू खोल्ने क्रम पनि बढेको छ। कतिपय संगठनहरू मनोरञ्जन, नाचगान तथा सांस्कृतिक कार्यक्रमका लागि भन्दै सदस्यहरूबाट चन्दा तथा सहयोग उठाउने गर्छन्। नयाँ आएका नेपालीहरूलाई समेत यस्ता संस्थामा जोडेर आर्थिक सहयोग उठाउने चलन देखिन्छ।
संस्था खोल्नुको अर्को उद्देश्य आफूहरू पहिले नै विदेश प्रवेश गरिसकेको वा स्थापित भइसकेको भन्दै “हामी पहिले आएका हौँ” भन्ने मानसिकताबाट आफ्नो प्रभाव र हैसियत देखाउने प्रवृत्ति पनि हो। यसले नेपाली समुदायमा एकता ल्याउनुको साटो विभाजन, सिन्डिकेट र गुटबन्दी सिर्जना गर्ने जोखिम बढाएको छ। अझ यिनै २०–२५ जना मात्र रहेको संस्थामा पनि अन्ततः पदमा को बस्ने भन्ने खिचातानी सामाजिक सञ्जालमा धेरै नै देख्न पाइन्छ।

कतिपय अवस्थामा संस्था समुदायको सेवा र एकताका लागि भन्दा पनि आफ्नो प्रभाव, पहुँच र व्यक्तिगत हैसियत स्थापित गर्ने माध्यम बन्न पुगेको देखिन्छ। संस्थाका व्यक्तिहरूले संस्थाको भावनालाई आर्थिक लाभ कमाउने माध्यम बनाएका छन्। समुदायको एकता, सहयोग र नेपाली संस्कृति संरक्षणका नाममा बनाइएका संस्थाहरूलाई व्यक्तिगत स्वार्थ र आर्थिक फाइदाका लागि प्रयोग गर्ने प्रवृत्तिले संस्थाको वास्तविक उद्देश्य नै कमजोर बनाएको देखिन्छ।
विदेशमा कुनै पनि संस्था खोल्दा सम्बन्धित देशको कानुनको पूर्ण पालना गरेर सञ्चालन गर्नुपर्छ। तर नेपाली समुदायको नाममा युरोपका केही संस्थाहरूले हक–हितको नाममा सम्बन्धित देशको कानुनलाई छल्ने, नक्कली असाइलम (शरणार्थी) दाबीका लागि झुटा कागजात तयार गर्न सहयोग गर्ने, र कसरी झुटो शरणार्थी बन्ने भनेर सिकाउँछन्। त्यहाँको सरकारलाई देखाउने काम एउटा हुन्छ, तर भित्रभित्रै गरिने काम अर्कै हुन्छ। बाहिर पारदर्शिता र सामाजिक सेवाको कुरा गरिए पनि, व्यवहारमा भने व्यक्तिगत स्वार्थ, गुटबन्दी र आन्तरिक स्वार्थका गतिविधि चलिरहेका हुन्छन्।
संस्था चलाउने कथित दलालहरूको कालो कर्तुत र विकृति

सामाजिक सञ्जालमा हेर्दा उनीहरूजस्तो महान् कोही हुँदैनन्। २–४ जना पीडितलाई १००–२०० युरो दान गरेको फोटो र स्टाटस राख्ने, कसैलाई काम मिलाइदिएको वा कसैलाई कोठा चाहिएको बेला खोजिदिएको जस्ता कुरा बारम्बार पोस्ट गरिरहेका हुन्छन्, जबकि पूरै आडम्बरको जिम्मा नै तिनैहरूले ठेक्का लिएजस्तो। बाहिरबाट हेर्दा भने उनीहरूजस्तो राम्रो र समाजसेवी सायदै कोही हुँदैनन्। अझ उनीहरू गैरसरकारी संस्था वा कूटनीतिक नियोग (दूतावास) आसपास पनि पहुँच राखेका हुन्छन्। धेरैजसो नक्कली असाइलम गरेर बसेकाहरूको नै बाहुल्यता छ।
भन्न त संस्थाहरू नेपालीहरूको हकहितका लागि खोलेको भनेर उद्देश्य देखाइन्छ। तर उनीहरूको भित्री धन्दा अर्कै हुन्छ। सामाजिक संस्थाको खोल ओढेर सामाजिक सञ्जालमा समाजसेवाको नौटंकी देखाउँदै एउटा गिरोह बनाइएको हुन्छ, जसमा दलाली, मानव ओसारपसार लगायतका गतिविधि तथा मनी लन्डरिङ, हुन्डी लगायतका गैरकानुनी काम गर्दछन्।
नेपालबाट ठगी गरेर गएका मानिसहरूलाई संरक्षण गर्ने र उनीहरूलाई कानुनी हिसाबले कसरी बचाउने, कसरी जोगाउने भन्ने कुरामा त उनीहरू निपुण नै हुन्छन्। विदेशमा रहेका व्यक्तिहरूमार्फत मात्र नभई नेपालमा समेत कनेक्सन बनाएर नेपालबाट ठगी गरेर गएकाहरूलाई विदेश बोलाउने र संरक्षण गर्ने प्रवृत्ति पनि देखिएको छ।
संस्थाको दुरुपयोग गरेर, अर्थात् संस्थामा विभिन्न गतिविधि देखाउँदै समाजसेवाको आवरणमा मानिसहरूलाई सम्पर्कमा ल्याउने, समुदायमा प्रभाव पार्ने र आफ्नो कनेक्सन बनाउने अनि त्यसैको आडमा नेपाली समुदायलाई सहयोगको नाममा ठग्ने कामसमेत हुने गरेको छ।
नेपाली दलालहरूले खुलेआम शरण आवेदनलाई प्रोत्साहन गरिरहेका छन्। युरोपमा कसरी शरण आवेदन दिने, कसरी आफ्नो कथा प्रस्तुत गर्ने र कसरी सम्बन्धित निकायलाई प्रभावित पार्ने भन्ने विषयमा केही व्यक्तिहरूले विभिन्न संस्थामार्फत मानिसहरूलाई भेला पारेर जानकारी तथा निर्देशन दिने गरेको देखिन्छ।

यी संस्थाहरूले आफ्नै केही सर्कल र आफ्नै गाउँ–ठाउँका चिनेका आफन्तहरूबाहेक अरूलाई न त सहयोग गर्दछन्, न त समेट्छन् नै। अझ उनीहरूलाई जयजयकार गर्नुपर्ने, समाजसेवी भनेर चिनाइदिनुपर्ने। अनि संस्थाले गर्ने कार्यक्रम छ भन्दै पर्व मनाउने र नेपाली संस्कृति जोगाउने बहानामा आफूलाई रमाइलो गर्न कलाकार ल्याउने, अनि जबर्जस्ती टिकट र चन्दा/परोपकारको नाममा पैसा उठाउने। कतिलाई त हप्की दिने पनि गर्दछन्। १–२ वटा काम गरेजस्तो देखाउने अनि बाँकी अवस्थामा यी संस्थाहरूले गर्ने कार्यक्रम अब व्यक्तिगत स्वार्थपूर्ण हुने गर्दछन्। तर उनीहरूको स्वार्थपूर्ण रूपमा गरिने कार्यक्रममा फेरि अन्य नेपालीलाई साथ दिन बाध्यात्मक परिस्थिति बनाइन्छ।
अन्ततः, यिनै संगठनहरूको छायामुनिबाट हुन्डी कारोबार, नक्कली आप्रवासनको दलाली तथा गैरकानुनी गतिविधिहरू हुने गर्दछन्।
नेपाली संस्थाहरूका Nepo Baby — विदेशस्थित संस्थाका परिवारजन

अलि पहिला विदेश छिरेर संस्था चलाउनेहरू विदेशमा तल्लो दर्जाको काम गरेर कमाउनुपरे पनि, फेरि सामाजिक सञ्जालमा देखाउँदा भने धेरै ठाँटबाँटका साथ विदेशी गीतमा नाच्दै, पार्टी गरेर आफू साँच्चिकै रोयल नै भइसकेको जस्तो गरी देखाउँछन्।
उनीहरूका Nepo सन्तानहरू जब विदेश जान्छन्, त्यही आमाबुबाले कमाएको जति कमाउन त काम गर्नैपर्छ। दिनदिनै मदिराको पार्टी चाहने र महँगा ब्रान्डेड सामान लगाउने सोख राख्ने र महिनैपिच्छे नयाँ गएका केटीहरूसँग यौन सम्बन्ध राख्नुपर्ने यस्ता कामचोरहरूका लागि विदेशमा काम गरेर कमाइ गर्नु फलामको चिउरा चपाएजत्तिकै कठिन हुन्छ। उनीहरूलाई विदेशमा खर्च धान्ने पैसा चाहिन्छ र उनीहरूसँग न त विदेशमा चाहिने कुनै सीप नै हुन्छ। ती Nepo Baby नेपालमै गफ हानेर, फकाएर वा अरूलाई ठगेर जीवन चलाउने गलत बानीमा बानी परेका हुन्छन्।

त्यसपछि उनीहरूले कमाइ गर्न गिरिराखेर अनेक हथकण्डा अपनाउँछन्। अनि आफ्ना बाउ–बाजेले खोलेको संस्थाको कार्यक्रममा कार्ड भिरेर “मेरो पहुँच विदेशभरि छ” भनेर देखाउने, नयाँ गएका मानिसहरूलाई ठग्ने, महिलाहरूलाई सहयोगको नाममा प्रेमिका बन्नुपर्छ भनेर दबाब दिने र यौन शोषण गर्ने, उनीहरूकै पैसामा आफ्नो खर्च तथा पार्टी गर्ने जस्ता कर्तुत गर्दछन्। उनीहरूको कर्तुत सुरु हुन्छ—कोठा भाडामा मिलाइदिने, जागिर लगाइदिने तथा अन्य युरोपेली देशबाट डन्की हानेर ल्याएर दलालीको काम गर्ने, कमिसन खाने लगायतका कर्तुत गर्दै बस्छन्। त्यसको बदलामा उनीहरूलाई के–कति पारिश्रमिक दिनुपर्छ भन्ने कुरा त भन्नै नसकिने हुन्छ—पैसामा मात्र होइन, शारीरिक, मानसिक लगायत यौनजन्य दबाबसमेत सहनुपरेको आरोपहरू सुनिन्छन्। सहयोग गरिदिएबापत पैसाबाहेक यौन सम्बन्ध राख्नसमेत बाध्य बनाउने, उनीहरूले नमाने उल्टै धम्की दिने र आफूले भनेको नमाने जे पनि गरिदिन्छु भन्ने किसिमका व्यवहार हुने गरेको छ।
अभिभावकले पनि आफ्ना सन्तानका खराब कामलाई मौन समर्थन नै दिन्छन्। किनकि आफूजस्तो तल्लो दर्जाको काम गर्नुपरेन नि त। हुन त आफ्नै बाउ–बाजेको पालामा बनाइएको संस्था आखिर केका लागि हो? आफ्नै सन्तानको फाइदाका लागि त होला नि, अपुतालीमा पाएको संस्था।
नयाँ नेपालीहरू, महिलाहरू र विद्यार्थीमाथिको शोषण (Exploitation)

पुराना भनिएकाहरू लगायत नक्कली असाइलमको आधारमा बसिरहेका केही व्यक्तिहरूको प्रभाव र पहुँचका कारण विद्यार्थीहरू सधैँ दबाब र अन्यायको बीचमा पर्छन्। वास्तविक चुनौती भोग्ने विद्यार्थीहरूको आवाजभन्दा देशलाई बदनाम गरेर फाइदा लिनेहरूको प्रभाव धेरै देखिनु दुःखद विषय हो। यसको प्रत्यक्ष मारमा परेका वास्तविक विद्यार्थीहरू छन्, जो खुलेर आफ्नो पीडा व्यक्त गर्न समेत सक्दैनन्। विद्यार्थीहरूले पूर्णकालीन काम गर्न पाउँदैनन्, स्थायी बसोबास (PR) प्राप्त गर्नु सहज हुँदैन, र कलेजको पढाइ पूरा गरेपछि पनि आफ्नो शिक्षा र योग्यताअनुसारको रोजगारी पाउन निकै संघर्ष गर्नुपर्छ।
स्थापना भइसकेका पुराना नेपालीहरूले नयाँ आएका विद्यार्थी वा कामदारहरूलाई सहयोग गर्ने नाममा आर्थिक रूपमा शोषण गर्ने गरेका छन्। बजारको प्रचलित दरभन्दा निकै कम ज्याला दिएर काम गराउने, “मैले काम दिएको छु र सहयोग गरेको छु” भन्दै मानसिक रूपमा दबाब दिने, एउटै कोठामा धेरै मान्छे कोचेर राख्ने र महँगो भाडा असुल्ने जस्ता गतिविधि हुने गरेका छन्। नयाँ पुगेकाहरू प्रायः “काम मिलाइदिन्छु”, “कागजात बनाइदिन्छु” र “कार्ड निकालिदिन्छु” जस्ता प्रलोभनमा परेर ठगिने गर्छन्।
तर विद्यार्थीहरू मौन छन्। एम्बेसीसँग कतिपयको रेकर्ड नै हुँदैन, विद्यार्थीहरूलाई कसरी कनेक्सन गर्ने भनेर। ती दलालहरूकै हरेक एम्बेसीले गरेका कार्यक्रममा हालीमुहाली हुन्छ र विद्यार्थीहरूको मारमा कसैले सुन्दैन।

अझ यिनै विदेशमा सिजनल भिसामा गएका महिलाहरूलाई असाइलम गराइदिने बहानामा बोलाएर गैरकानुनी बनाइदिने र लगायत सहयोगको नाममा यौनको प्रस्ताव त दलालहरूले राख्ने सामान्य (common) प्रस्ताव हो।
जसको कोही हुँदैन विदेशमा, उनीहरूले संस्थाको सहयोग पाउनु भनेको आफ्नो मर्यादा (Dignity) छाड्नु हो। होइन भने संस्थाको सहयोगको आशा गर्नु बेकार हो। अझ संस्थाकै सदस्य वा उनीहरूकै आफन्तले नै नेपालीलाई दबाउँदा त झन् उल्टै धम्कीको सामना गर्नुपर्छ। न्यायको कुरा त परै जाओस्।
नेपालबाट कसैलाई सहयोग चाहियो र संस्थासँग सम्पर्क गर्यो भने (IF SOMEONE NEEDS HELP FROM NEPAL)

कतिपय अवस्थामा त संस्थाका मानिसहरूको नम्बर नै पाइँदैन। अनि कुनै कार्यक्रमको पैसा उठाउने वा टिकट बेच्ने ब्यानरमा भेटेर सम्पर्क गर्न खोज्यो भने सम्बन्धित मानिसको नम्बर दिनै खोजिँदैन, जबकि सबै त्यही संस्थासँग सम्बन्धित मानिसहरू रहेका हुन्छन्। विदेशमा गोपनीयताको कानुन हुन्छ भन्दै तर्कसमेत दिइन्छ। हासो लाग्दो कुरा त के छ भने, नियम र कानुनको कुरा गर्नेहरू नै…
कानुनसम्बन्धी कुरा गर्ने विदेशमा भन्नेहरू नै त्यही देशको कानुन उल्लङ्घन गरेर नक्कली असाइलम गर्न माहिर हुन्छन्।
जनालाई ठगी गर्दा संस्थाकै कार्ड भिरेर सामाजिक सञ्जालमा तिनै संस्थाको पहुँच देखाउँछन्। संस्थाको कार्ड भिर्दा ती संस्थाले पछि “हामीले चिन्दैनौँ”, “राम्ररी चिनेका छैनौँ” वा “संस्थाको मान्छे नै होइन” भनेर उक्त ठगलाई तर्काउन र जोगाउन खोज्छन्।
संस्था भनेको कानुन र अदालत होइन भन्ने तर्क दिइन्छ, त्यो त सबैलाई जगजाहेर नै छ। तर नेपाली समाजमा कतिपय अवस्थामा न्यायको आधारसँग अड्कली लगाइन्छ। कम्तीमा दुवै पक्षको कुरा सुन्ने र अमनचयनको वातावरण मिलाइदिँदा अदालत नै बन्नुपर्छ भन्ने पनि होइन। यदि कुनै व्यक्तिमाथि आरोप लागेको छ र नेपालबाट पीडितले सहयोगको अपेक्षासहित आरोपित व्यक्ति संलग्न रहेको सम्बन्धित संघ–संस्था वा तिनका सदस्यहरूसँग गुहार मागेर सम्पर्क गरेको छ भने, कम्तीमा दुवै पक्षको कुरा सुन्ने, आवश्यक परे उनीहरूलाई सम्पर्कमा ल्याइदिने तथा संवादको प्रक्रियालाई सहयोग गर्ने सामाजिक जिम्मेवारी होइन र?
जब नेपालमा भएको सोझो नेपालीले विदेशमा भएको नेपालीसँग न्याय माग्छ, तब आफ्नो वरिपरिका खराब व्यक्तिको आचरण थाहा हुँदाहुँदै पनि आफूले चिनेको खराब मानिसको पक्ष लिएर सोझा नेपालीमाथि अन्याय हुँदा नातावाद, कृपावाद, आफन्तवाद र चिनजानको आधारमा सहयोग गर्ने प्रवृत्ति देखिन्छ। मानवीयताभन्दा सम्बन्धलाई ठूलो ठान्ने यस्तो संस्कारले समाजलाई झन् कमजोर बनाउँछ। विदेशमा रहेका नेपाली संघ–संस्थाहरूको भूमिका सत्य, पारदर्शिता, कानुनको सम्मान र न्यायको पक्षमा हुनुपर्ने होइन र? तर उनीहरू गलत मान्छेलाई जोगाउन नैतिकता नै बेच्ने गर्दछन्।
आफ्ना नजिकका मानिसहरूको ठगीलाई उनीहरूले कसरी संरक्षण गर्छन्?

जब संस्थासँग सम्बन्धित वा उनीहरूका नजिकका व्यक्तिको गलत कामको कुरा उठ्छ, त्यतिबेला भने एकाएक सबै जना बचाउ गर्न र समर्थनमा उत्रिन्छन्। जुन संस्थाको नाम बेच्दै ठगी गरिरहेका छन्, उनीहरूको बारेमा सम्बन्धित संस्थाका आधिकारिक व्यक्तिलाई भन्न पाउने कि नपाउने?
सम्बन्धित संस्थालाई उनीहरूको आफ्नै सदस्य, आसेपासे र आफन्तले गरेका गलत कार्यबारे जानकारी गराउँदा पनि, “कानुनी बाटो खोज”, “संस्था त्यो कामको लागि बनेको होइन, के संस्थाको जिम्मा हो त्यो?”, “नेपालीहरूलाई विखण्डन गर्न खोज्ने” जस्ता अभिव्यक्तिहरू दिँदै, गलत प्रवृत्तिका मानिसलाई बचाउनका लागि दुवै पक्षको कुरा सुन्नसमेत नचाहने प्रवृत्ति विदेशमा सामान्यजस्तै हो। अब विदेशमा रहेका नेपाली संघ–संस्थाहरूले संस्थासँग नजिक नभएका, आफन्त नपर्ने, वा उनीहरूको चाकडी र गुणगान नगाउने – विद्यार्थी, समस्यामा परेका नेपाली वा कसैको साथ नभएका व्यक्तिलाई के-कति सहयोग गर्छन् भन्ने कुरा अहिले सबैका लागि प्रस्ट नै छ। यस्तो अवस्थामा नेपाली संघ–संस्थाबाट विद्यार्थी र पहुँच नभएका र सोझा नेपालीले के-कस्तो अपेक्षा गर्ने? अझ धेरै जनाले नै सम्पर्क गर्यो भने ठगी गरेका मानिसहरूका बारेमा त उनीहरूका परिवारले समेत जिम्मेवारी लिँदैनन्।
अनि हामीलाई प्रमाण दिनुहोस्, हामी सहयोग गर्छौँ भनेर प्रमाण माग्छन्। पीडितहरूले न्याय पाउने आशामा प्रमाण पठाउँछन्। त्यसपछि भने अर्कोको गोपनीयताको कुरा उठाउँदै “यो कुरा यहीँ टुंग्याउनुपर्छ” भनेर उल्टै धम्की दिने गर्छन्।
अन्ततः दोषीलाई जोगाउनेतर्फ नै उनीहरूको प्राथमिकता रहने गर्छ, चाहे संस्थाको बदनाम नै किन नहोस्। सबै मिलेर पीडितलाई नै आक्रमण गर्ने कार्य गरिन्छ। ठग्ने बेलामा, दुःख दिने बेलामा संस्था संलग्न हुने, परिवार संलग्न हुने अनि जब उही समातिन्छ तब सबै जनाले जिम्मेवारी नलिने।
कुनै संस्थाको नाम लिएर, कार्ड भिरेर ठगी गरिन्छ भने संस्था जिम्मेवार हुन्छ कि हुँदैन?
अनि संस्थासँग आबद्ध भएको व्यक्तिहरू भएपछि र संस्थामा फोटो देखिसकेपछि मानिसले संस्थाकै माध्यमबाट त सम्पर्क गर्न खोज्छ नि। यदि कुनै संस्था वा त्यसका पदाधिकारीले तथ्य नै नबुझी एक पक्षको मात्र संरक्षण गर्न खोज्छन् भने, त्यसले सामाजिक उत्तरदायित्वमाथि नै प्रश्न उठाउने कि नउठाउने? सामाजिक संस्थाको दायित्व आरोपित व्यक्तिलाई स्वतः बचाउने वा संरक्षण गर्न खोज्ने होइन, बरु निष्पक्षता, सत्य र न्यायको पक्षमा उभिने हो।
निष्कर्ष
विडम्बना यो छ कि विदेशमा रहेका केही सामाजिक संस्थाका व्यक्तिहरूले मानवताका नाममा अपराधीहरूलाई संरक्षण गरिरहेका छन् र सहयोगको नाममा दलाली गरेर नक्कली असाइलमलाई बढावा दिइरहेका छन् र साथै, भ्रष्टाचार र आर्थिक अनियमिततालाई प्रश्रय दिँदै हुन्डी कारोबारसमेत चलाइरहेका छन्। जसमा संस्थामा लागेका बाठा र समाजसेवी टोपलिने बाठा नेपालीहरू नै संलग्न रहेका छन्।
सम्पूर्ण नेपाली समुदाय दोषी होइन। तर केही संगठित समूहद्वारा संस्थाको दुरुपयोग र केही सीमित व्यक्तिहरूका यस्ता गलत कार्यले गर्दा सिङ्गो नेपाली समुदाय र राष्ट्रको इज्जत दुवैलाई धुलिसात पार्ने जोखिम हुन्छ।
विदेशमा बस्ने नेपालीहरूले एकअर्कालाई संकटमा सहयोग गर्नु, नयाँ आउनेलाई सही जानकारी दिनु, भाषा, रोजगारी, शिक्षा र सामाजिक समायोजनमा साथ दिनु प्रशंसनीय कार्य हो। तर यदि कसैले कसैलाई दुःख दिएर, ठगी गरेर, अन्य कुकर्म गरेर विदेश पलायन भएको छ भने, सहयोगको नाममा त्यसलाई सही ठहर्याउनु, लुकाउनु, वा संरक्षण गर्नु भन्ने होइन।
समाजसेवा भनेको संकटमा परेका व्यक्तिलाई मानवताको आधारमा सहयोग गर्नु हो। तर समाजसेवाको पनि एउटा स्पष्ट परिधि हुन्छ। तर लाज, शर्म र मानवता देशमै छोडेर गएपछि त के कुरा गर्नु!
“पर्खालमाथि चढ्ने चोरलाई भर्याङ समाइदिने मान्छे, चोर नभएको होइन — उसले पनि चोरी गरेकै हो।”
(“The one who holds the ladder for a thief climbing a wall is no less a thief than the one scaling it.”)
निस्सन्देह, केही संस्थाहरूले मनदेखि नै निस्वार्थ सहयोग पनि गरेका छन्, र त्यस्ता संस्थाको सम्मान हुनुपर्छ। तर बहुसंख्यक संस्थाहरूको व्यवहारले भने प्रश्न उठाउने ठाउँ छ। आफ्ना मान्छेलाई सजिलो होस्, संस्थाको नाम प्रयोग गरी कमाइ–धन्दा चलाउनकै लागि भनेर, वा आफ्ना नजिकका गलत व्यक्तिहरूलाई जोगाउन र संरक्षण दिनकै लागि केही संघ–संस्था खोलिएका हुन् भन्दा पनि अनुपयुक्त नहोला। अहिले व्यक्तिगत स्वार्थ, प्रभाव र आफ्नो अस्तित्व देखाउने नाममा केही व्यक्तिहरूले संस्थाको नाम जोडेर नेपालीलाई ठग्ने, अनुचित फाइदा उठाउने तथा विभिन्न अनैतिक गतिविधिमा संलग्न हुने प्रवृत्ति बढिरहेको देखिन्छ। संस्थाकै नाम जोडेर कमाइ गर्ने अनेक तरिकाहरू अपनाउने गरेको सबैलाई सर्वविदितै छ। यस्ता कार्यले संस्थाको मात्र होइन, समग्र नेपाली समुदायको प्रतिष्ठामाथि पनि नकारात्मक असर पार्छ।
Hashtas:
#नेपालीसमुदाय #युरोपमा नेपाली #समाजसेवा #सामुदायिकनैतिकता #आप्रवासन #NepaliDiaspora #NepalisInEurope #CommunityAccountability #SocialService #विद्यार्थीअधिकार #महिलासुरक्षा #ठगीविरुद्ध #पारदर्शिता #न्याय #FakeAsylum #Hundi #Exploitation #NepoCulture #MigrantRights #नेपालीसंस्था #गुटबन्दी #मानवता #जिम्मेवारी #MediumNepali

